सेकेण्डरी ईनफर्टिलिटी र यसका कारणहरु

समयक्रमसँगै बदलिदो परिवेशमा अन्य क्षेत्र जस्तै स्वास्थ्य क्षेत्रमा पनि विभिन्न किसिमका सफलताका साथ चुनौतीहरु पनि थपिदै गएका छन । स्वास्थ्य क्षेत्रमा देखा परेका कयौ समस्याहरु मध्ये दिन प्रतिदिन द्रुतगतिमा बढिरहेको निसन्तानपन सम्बन्धि समस्या एक हो भन्ने तथ्यलाई नकार्न सकिदैन । विश्व स्वास्थ्य संगठन (World Health Organization) को अध्यनलाई आधार मान्दा हरेक ६ दम्पति मध्ये १ दम्पति कुनै न कुनै रुपमा निसन्तानपन सम्बन्धि समस्या भोगिरहेको तथ्य उजागर भएको छ । निसन्तानपन भएमा समयमै उपचार गराउनुपर्छ भन्ने जनचेतनाको अभाव, वातावणिय असर, खानपान, ढिलो विबाह (Late Marriage) जस्ता कारणहरुबाट यो समस्या आगामी दिनहरुमा पनि बढदै जाने सम्भावना देखिन्छ ।

       सामान्य भाषामा निसन्तानपनलाई परिभाषित गर्दा कुनै पनि दम्पतिले एक बर्ष सम्म परिवार नियोजनका साधनहरु प्रयोग नगरि नियमित रुपमा शारिरीक सम्पर्क गर्दा समेत गर्भधारण नभएमा निसन्तानपन सम्बन्धि समस्या  भन्ने बुझ्नुपर्छ । क्रमिक रुपमा अध्यन गर्दै जाँदा निसन्तानपन सम्बन्धि समस्यालाई प्राथमिक ईनफर्टिलिटी (Primary Infertility) र सेकेन्ड्री ईनफर्टिलिटी (Secondary Infertiity) गरी दुई भागमा विभाजन गरिएको छ । परिवार नियोजनका साधनको प्रयोग नगरि शारिरीक सम्पर्क गर्दा समेत एक पटक पनि गर्भधारण गर्न नसकेको अवस्थालाई प्राईमरि ईनफर्टिलिटी भनिन्छ भने बिगतमा गर्भधारण भएको तर गर्भपात (Miscarriage) तथा एक्टोपिक प्रेगनेन्सी (Actopic Pregnancy) भएको अथवा बिगतमा सन्तान प्राप्ती पनि भएको तर वर्तमा समयमा गर्भधारणको प्रयास गर्दा सफल हुन नसकिरहेको अवस्थालाई सेकेन्ड्री ईनफर्टिलिटी भनिन्छ ।

       हालैका दिनहरुमा निसन्तानपनका समस्या अन्तर्गत प्राईमरी ईनफर्टिलिटी सँगै सेकेन्ड्री ईनफर्टिलिटीको संख्या पनि दिन प्रतिदिन बढिरहेको पाईन्छ । सेकेन्ड्री ईनफर्टिलिटी बढनुको विभिन्न कारणहरु रहेका छन जसमध्य केहि मुख्य कारणहरुको चर्चा गर्नु समय सान्दर्भिक नै हुन्छ । उमेर (Age) सेकेन्ड्री ईनफर्टिनिटीको दरलाई बढाउने एउटा प्रमुख कारण हो । सेकेन्ड्री ईनफर्टिलिटीको समस्या देखा पर्दा पक्कै पनि पहिलेको तुलानामा उमेर बढी भएको हुन्छ, उमेर बढदै जाँदा विभिन्न किसिमका शारिरीक जटिलता सँगै पुरुषको शुक्रकिट (Sperm) को गुणस्तर र महिलाको अण्डा (Egg) को गुणस्तर ह्रास हुदै जान्छ, किनकि महिलाको हकमा ३० (तीस) बर्ष पछि क्रमिक रुपमा र ३५ (पैतिस) बर्षपछि द्रुत गतिमा अण्डाको गुणस्तर घटदै जान्छ भने उमेर बढदै जाँदा पुरुषको शुक्रकिटको गुणस्तर पनि घटदै जान्छ । त्यसैगरी उमेर सँगै तौल (Weight) बढदै जानु अर्थात बडी मास ईन्डेक्स (Body Mass Index) सन्तुलित नहुनु पनि सेकेन्ड्री ईनफर्टिलिटी दर बढाउने अर्को कारणको रुपमा रहेको पाईन्छ । त्यसैगरी महिलाको फेलोपियन टयुव ब्लक हुनुपनि एउटा प्रमुख कारणको रुपमा लिन सकिन्छ किनकि करिव एकतिहाई निसन्तानपनको समस्या भोगिरहेका महिलाहरुमा फेलोपियन टयुव ब्लक हुने समस्या देखापर्छ । त्यसैगरी पोलिसिस्टीक ओभरी सिन्ड्रोम (PCOS), ईन्डोमेट्रीओसिस (Endometriosis), हर्मोनल असन्तुलन (Hormonal Imbalance), तनाव (Stress)  आदिले पनि सेकेन्ड्री ईनफर्टिलिटीको दर बढिरहेको पाईन्छ ।

       अन्त्यमा बढदै गईरहेको सेकेन्ड्री ईनफर्टिलिटीको अवस्थालाई मध्यनजर गर्दा दोहर्‍याएर गर्भधारणको प्रयास अथवा योजना गरिरहनु भएका दम्पतिहरुलाई उल्लेखित विभिन्न कारणहरुले सन्तान प्राप्तीको यात्रामा असहजताहरु सिर्जना गर्न सक्ने भएकोले समयमै सचेत हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Open chat
Hello
Can we help you?